हलमा मेरै चलचित्र पहिला जाओस् भन्ने चाहन्थेँ : पूजा



सरकारले सिनेमा हल र छायांकन खोल्ने निर्णय गरेपछि माघ १ गतेबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आयो । यो चलचित्रले हलमा दर्शक फर्काउने धेरैको अपेक्षा थियो । तर, चलचित्रले हलमा पानी भन्न पाएन । यो चलचित्र पत्तासाफ भएपछि अरु निर्माता समेत तर्सिएका छन् । अभिनेत्री पूजा शर्मा भने रिक्स मोलेर आफूले निर्माण गरेको चलचित्र चलाउन तयार देखिएकी छन् ।

गत वर्षको फागुन अन्तिममा प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कोरोनाका कारण रोकिएको थियो । सिनेमा हल खुलेपछि पूजाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफू निर्माता रहेको यो चलचित्र प्रदर्शनका लागि निर्देशक सुदर्शन थापा र वितरक करण क्रेजीलाई आग्रह गरेकी थिइन् । उनले आउँदो भ्यालेन्टाइनमा चलचित्र रिलिजको प्रस्ताव अगाडि सारेकी थिइन् ।

तर, वितरकले स्थिति सामान्य नहुँदासम्म पर्खिन सुझाव दिएपछि आफू पछाडि हट्न बाध्य भएको उनको भनाई छ । उनी भन्छिन्, ‘म सिनेमा हलमा मेरै चलचित्र पहिला जाओस् भन्ने चाहन्थेँ । मैले सुदर्शन जीसँग हामी रिक्स नै मोलौं भनेर भनिरहेको हुन्छु । राम्रो चलचित्र छ भने दर्शकले अवश्य पनि साथ दिनुहुन्छ । चलचित्र नै कमजोर छ भने त जहिल्यै रिलिज गर्दा पनि दर्शकले हेर्नुहुन्न ।’

चलचित्र रिलिजको बारेमा उनी अगाडि भन्छिन्, ‘मैले वितरकलाई हलले एमजी दिन्छ भने हामी चलचित्र रिलिज गर्ने रिक्स उठाउन तयार छौं भनेको थिएँ । तर, उहाँहरु सही समय कुरेर बस्नु भएको छ । मैले भ्यालेन्टाइनमा चलचित्र रिलिज गरौं भनेको थिएँ । तर, उहाँहरुले चैत वा बैशाखमा गरौं भन्नुभएपछि म पछि हेटेको हुँ ।’ यो चलचित्रमा पूजासँगै अभिनेता पल शाहसँको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu