सुदर्शन भन्छन्, ‘चलचित्रले पर्यटन प्रर्वधनमा ठूलो भूमिका खेल्छ’



कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ चलचित्र छायांकनको लागि उपयुक्त ठाउँमध्ये एक हो । यही ठाउँमा चलचित्र पत्रकार संघ कास्की शाखाले मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ माथि छलफल चलाएको छ । कार्यक्रममा चलचित्रकर्मी र पर्यटनकर्मीहरुको उपस्थिति रहेको थियो ।

छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ मा निर्देशक सुदर्शन थापाले कोभिडले चलचित्र र पर्यटन दुबै क्षेत्र अति प्रभावित भएको बताए । उनले भने- ‘पर्यटन र चलचित्र एकअर्काका परिपुरक हुन् । चलचित्रले पर्यटन प्रर्वधनमा ठूलो भूमिका खेल्छ । तर, चलचित्रले पर्यटन प्रर्वधनमा सहयोग गरे पनि त्यसको विकास निर्माणमा मद्दत गर्छ भन्ने चाहिँ मलाई लाग्दैन ।’

१२ वर्षपछि घान्द्रुक पुगेका उनले थपे- ‘मैले मुस्ताङमा ‘के यो माया हो ?’ खिचेको थिएँ तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ ‘प्रेमगीत’ खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा राम्रो प्रतिक्रिया पायौं । आन्तरिक पर्यटन आउँदा अझ राम्रो बनेको सुनियो । त्यो ठाउँको भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’

त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले चलचित्रको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हबको रुपमा स्थापित भएको बताए । चलचित्रबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेको बताउँदै उनले पर्यटन सम्बद्ध संस्था र चलचित्र क्षेत्रबीच समन्वय भने हुन नसकेको स्वीकार गरे । विगतमा भएको कमजोरी सुधार्दै आगामी दिनमा राम्रो गर्दै जाने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu