चलचित्र क्षेत्रले ३० वर्षको मात्र यात्रा पार गरेको छ : दीपकराज गिरी



कलाकार दीपकराज गिरीले एकाध बनेका चलचित्रलाई गनेर नेपाली चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताएका छन् । मंगलवार चलचित्र पत्रकार संघ कास्की शाखाले घान्द्रुक गाउँमा आयोजना गरेको ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयक छलफल कार्यक्रममा उनले नेपाली चलचित्र क्षेत्रले ३० वर्षको मात्र यात्रा पार गरेको बताए ।

‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमाथिको छलफलमा उनले भने- ‘उपन्यासमा डायलगभन्दा विवरण धेरै हुन्छ । चलचित्र दृश्य भाषामा बोल्नु पर्ने हुन्छ त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ । मार्केटले भन्छ, दुई करोडभन्दा बढी लगानी गरे डुबिन्छ । तर, एउटा द्वन्दको सिन देखाउन होलीको सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले थेग्दैन ।’

निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा कलाकार गिरीले साहित्य (पुस्तक) माथि पर्याप्त मात्रामा चलचित्र निर्माण हुन नसक्नुको कारण चलचित्रकर्मी दर्शकसँग डराएको बताए । उनले अगाडि भने- ‘लेखिने र बोलिने कुरामा धेरै फरक हुन्छ । जटिलता हुने कारणले गर्दा पनि नेपालमा साहित्यमाथि आधारित भएर खासै चलचित्र बनेका छैनन् ।’

उक्त कार्यक्रममा वक्ताको रुपमा उपस्थित कवि भूषिता वशिष्ठले चलचित्रको संवादमा मौलिकता हुनुपर्ने बताइन् । चलचित्रकर्मी साहित्यकारहरुसँग डराउन नहुने पनि उनको भनाई छ । त्यस्तै, लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभरबाट अझै नेपाली चलचित्र मुक्त हुन नसकेको बताए । आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर चलचित्रमा देखाउन सकिने उनको कथन छ ।

कार्यक्रमलाई समापन गर्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले कोरोनाका कारण भएको लामो बन्दाबन्दी पश्चात खुलेको पर्यटन र चलचित्र क्षेत्रको प्रचार-प्रसारका लागि आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेको बताए । छोटो समयको तयारीमा गरिएको ‘सिनेमा संवाद एट घान्द्रुक’ ले पर्यटन र चलचित्र क्षेत्रको विकासमा पूलको काम गर्नेमा उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu