लकडाउनपछि धेरै द्वन्द कलाकार पलायन भए : नारायण प्रधान



माघ १० गते भएको पाँचौ साधारण सभाबाट चलचित्र द्वन्द कलाकार संघको अध्यक्षमा चुनिएका नारायण प्रधानले अब द्वन्द कलाकार संघ सशक्त भएर अगाडि बढ्ने बताएका छन् । शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा उनले अब द्वन्द संघमा आबद्ध कलाकार र उनीहरुका परिवारलाई भोकै मर्न नदिने बताए ।

उनले भने- ‘अब हामी अक्षय कोष स्थापना गरेर वा आफ्नो हिसाबबाट कुनै द्वन्द कलाकारले अन्य व्यवसाय गर्न चाहन्छ भने काम गर्ने वातारण सिर्जना गर्नेछौं । र, द्वन्द विधामा लागेको व्यक्तिले बच्चालाई पढाउन सकेको छैन भने उनीहरुलाई पढ्ने वातावरण पनि हामी सिर्जना गर्नेछौं । यो विधामा लागेका र संघमा आबद्ध भएकालाई अब भोकै मर्न दिने स्थिति सिर्जना हुन दिँदैनौं ।’

कोरोनाका कारण भएको लकडाउनमा चलचित्र निर्माण ठप्प हुँदा ठूलो संख्यामा द्वन्द कलाकार पलायन हुन बाध्य भएको उनले बताए । ‘लकडाउनभन्दा अगाडि ६/७ सय जनाभन्दा बढी द्वन्द कलाकारहरु थिएँ । अहिले सय जना जति सक्रिय होलान् । लकडाउनपछि चलचित्र निर्माण नहुँदा धेरै द्वन्द कलाकारहरु आफ्नो पुर्खौली घरमा गएर खेतीपाती गरिरहेका छन्,’ उनले भने ।

संघको प्रथम उपाध्यक्षमा रेवन्त विक्रम थापा, दृतिय उपाध्यक्षमा रोशन गुरुङ, महासचिव पुण्य प्रसाद ओझा र कोषाध्यक्षमा रुका लामा निर्विरोध चयन भएका छन् भने सदस्यहरुमा दीलिप श्रेष्ठ, लक्ष्मी कुमारी दाहाल, रविन्द्र खड्का, सञ्जय थापा, विश्वराज घिसिङ, सम्राट बस्नेत, श्री श्रेष्ठ, पेमा लामा र रोहित थापा रहेका छन् । अध्यक्ष प्रधानको कार्यसमितिले अबको २ वर्ष द्वन्द संघ हाँक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu