चलचित्रकर्मीको कुकृत्य भण्डाफोर गर्दै शिव श्रेष्ठ



‘जीवन रेखा, ठुल्दाइ, चिनो, ट्रक ड्राइभर, कान्छी, धर्म संकट’ जस्ता कयौं उत्कृष्ट चलचित्रमा काम गरेका एक्सन स्टारको रुपमा परिचित शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ यही माघ १ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रबाट उनका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् ।

कोरोनाका कारण बन्द भएका सिनेमा हल ९ महिनापछि खुल्दा कुनै निर्माताले नयाँ चलचित्र प्रदर्शन गर्ने आँट गरेनन्, शिव श्रेष्ठबाहेक । धेरैले उनको हिम्मतको प्रशंसा पनि गरे । तर, चलचित्र रिलिज भएपछि प्रशंसा गर्नेहरु कोही भेटिएन । किनकि, छायांकन समेत पूरा नभइ प्रदर्शन गरिएको चलचित्र अत्यन्त कमजोर बनेको थियो । अन्ततः चलचित्रले पनि हलमा घुँडा टेक्यो ।

शिव श्रेष्ठ जस्ता व्यक्तिले यस्तो चलचित्र निर्माण गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै आलोचना भइरहेको छ । केही दिन अगाडि अभिनेत्री करिश्मा मानन्धरले समेत उनीप्रति कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । चलचित्र रिलिज भएपछि आफूलाई लिएर भएका विभिन्न टिका टिप्पणीप्रति मौन रहेका शिवले शुक्रवार साँझ फेसबुकमा स्टाटस लेख्दै चलचित्रकर्मीहरुलाई चेतावनी दिएका छन् ।

उनले केही दिनमा चलचित्र क्षेत्रका बारेमा केही लेख्ने बताएका छन् । उनले लेखेका छन्, ‘नेपाली चलचित्र क्षेत्रबारे केही लेख्दैछु । अनि यो क्षेत्रका विभिन्न व्यक्तित्वहरु र तिनीहरुको कुकृत्यहरुबारे भण्डाफोर समेत गर्दैछु, प्रतिक्षा गर्नुहोला ।’ शिव श्रेष्ठको यो स्टाटसले यतिबेला चलचित्र क्षेत्रमा तरंग नै पैदा गरेको छ । उनले यसप्रकारको चेतावनीपूर्ण स्टाटस लेखेको पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu