पर्दामा लभर ब्वाईको भूमिकामा निकै रुचाइएका अभिनेता आर्यन सिग्देल पछिल्लो रिलिज चलचित्र ‘चच हुईं’ पछि एक वर्ष कुनै चलचित्रमा आबद्ध भएनन् । चलचित्र छनोटमा गम्भीर नभएको आरोप खेपिरहेका उनले एक वर्षको विश्रामपछि चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरे । उनी अहिले यही चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रप्रति उनको ठूलो आशा र भरोसा छ ।
पोखरा आसपासमा छायांकन भइरहेको चलचित्रमा आर्यनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । छायांकन सुरु भएदेखि उनीहरुको तस्विर सार्वजनिक गरिएको थिएन । तर, मंगलवार आर्यनले इन्स्टाग्राममार्फत् उपासनासँगको रोमान्टिक तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा उनीहरुलाई फेवातालको किनारमा एकअर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।

आर्यनले क्याप्सनमा लेखेका छन्, ‘फेवा लेकमा तेस्रो रातको छायांकन । तालको किनारमा चिसो भइरहेको छ । तर, हामी रमाइरहेका छौ ।’ रोमान्टिक थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराईको पनि अभिनय छ । प्रबिन झाले निर्देशन गरिरहेको चलचित्रले नायक र नायिकाबीचको उमेर अन्तरको कथा भन्नेछ ।
अर्को वर्षको साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रका गीतमा दीपक शर्मा र कोशिश क्षेत्रीले संगीत भरेका छन् । राम प्रसाद रिजालको प्रस्तुती रहेको चलचित्रको निर्मातामा राज कुमार भट्ट र लक्ष्मण रिजाल रहेका छन् । चलचित्रको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । पोखरापछि काठमाडौंमा छायांकन गरिने चलचित्रलाई महेश आर गुप्ताले खिचिरहेका छन् ।




