श्वेताकी बहिनी र उत्सवले मागे सुष्मासँग माफी



अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले अभिनेत्री सुष्मा कार्कीसँग माफी मागेका छन् । बुधवार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा भएको छलफलपछि आरती र उत्सवले सुष्मासँग गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । उत्सवले मिडियाको सामु पनि गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता खालका विवाद नहुने बताए ।

सोमवार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा श्वेताकी बहिनी आरती र पत्रकार उत्सवले हातपात र गाली गलौज गरेको भन्दै उनीहरुविरुद्ध मंगलवार प्रहरी वृत्त, दरबारमार्गमा सुष्माले उजुरी दिएकी थिइन् । बुधवार प्रहरीले दुवै पक्षलाई बोलाएर विवाद टुंग्याएको हो । आरती र उत्सवले प्रहरीसमक्ष आवेशमा आएर गल्ती हुन गएको स्वीकार गर्दै सुष्मासँग माफी मागेका थिए ।

प्रहरी वृत्तमा उपस्थिति मिडियाकर्मीसँग सुष्माले भनिन्, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँहरुले स्वीकार गर्नुभएपछि मैले माफी दिएँ ।’ उत्सवले जातीय कुरा उठाएकोमा आपत्ति जनाउँदै उनले अगाडि थपिन्, ‘जातीय कुरा पनि उठाइएको रहेछ । जबकि, म त्यस्तो उच्चारण गर्दिनँ । मलाई दुईटा जात मात्र थाहा छ, महिला र पुरुष । यस्तो गलत कुरा नफैलाउँ भनेर मैले उत्सवमा भनेको छु ।’

पत्रकार रसाइलीले सुष्मा र आफूहरुबीच नहुनुपर्ने असमझदारी भएको र सुष्मामाथि भएको आक्रमणप्रति क्षमा याचना गरे । ‘भोलीका दिनमा यस प्रकारका वाद विवाद, भनाभन हुने छैन भनेर हामीहरुबीच समझदारी भएको छ । अबदेखि हामीले एकअर्काको आत्मालाई सम्मान गर्दै अगाडि बढ्ने भन्ने निर्णय भएको छ,’ उत्सवले भने । उनले सुष्माको स्वास्थ्य लाभको पनि कामना गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu