कति वर्षकी भइन् करिश्मा ?



नेपाली चलचित्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धर बिहीवार आफ्नो जन्मदिन मनाउँदैछिन् । ४७ वर्षमा प्रवेश गरेकी उनको जन्म २०३० साल माघ २२ गते काठमाडौँ, बत्तीसपुतलीमा भएको थियो । उनको वास्तविक नाम भने बुनु केसी हो । चलचित्रमा आएपछि नाम परिवर्तन गरेर करिश्माले १४ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी थिइन् । एक समय उनी नेपाली चलचित्रकी निर्विकल्प अभिनेत्री झैँ थिइन् ।

प्रकाश थापा निर्देशित चलचित्र ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्माले यसपछि करिअर कहिल्यै फर्केर हेर्नुपरेन । ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ लगायतका चलचित्रले उनको करिअर उत्कर्षमा पुर्‍यायो । एक समय उनले त्यसबेलाका चल्तीका हिरो बराबर पारिश्रमिक बुझ्ने गरेको चर्चा समेत चल्ने गरेको थियो ।

पहिला दुई चलचित्र ‘सन्तान’ र ‘मायालु’ मा आफूले अभिनय नभइ क्यारिकेचर गरेको बताउने उनले त्यसपछि सात महिना मुम्बई गएर मधुमति डान्स सेन्टरमा नृत्य र अभिनय समेत सिकेकी थिइन् । यसपछि नेपाल फर्किएर लगातार चलचित्रमा काम गर्न लागेकी उनको अभिनेता राजेश हमालसँग ‘केमेस्ट्री’ अत्याधिक रुचाइयो । उनीहरुले एकसाथ कयौं सुपरहिट चलचित्रमा काम गरेका छन् ।

करिश्माले अभिनयसँगै चलचित्र निर्माणमा पनि हात हालेकी छन् । उनले निर्माण गरेको चलचित्र ‘ढुकढुकी’ निकै सफल भएको थियो । तर, ‘बाबुसाहेब’ ले ठूलो घाटा बेहोरेपछि उनी निराश भएर २०६१ सालमा अमेरिका पलायन भइन् । करीब ९ वर्ष उनको अमेरिकामा नै वित्यो । यसपछि नेपाल फर्किएर पुनः अभिनयमा सक्रिय भएकी उनी अचेल भने अभिनयबाट निस्क्रिय झैँ छिन् ।

४० लागेपछि विद्यालयमा गएर अध्ययन गरी एसईई उत्तिर्ण गरेकी उनी हाल प्लस टूमा अध्ययनरत छिन् । डा। बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर समेत सुरु गरेकी उनले दुई वर्षअघि यो पार्टी परित्याग गरेकी थिइन् । अहिले उनी कुनै पार्टीमा आबद्ध छैनन् । तर, विभिन्न सामाजिक र राजनीतिक विषयमा भने उनले आफ्नो विचार राख्ने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu