आफूले निर्माण गरेको चलचित्र ‘बाबुसाहेब’ असफल भएपछि अभिनेत्री करिश्मा मानन्धर २०६१ सालमा अमेरिका पलायन भएकी थिइन् । करीब ९ वर्ष उनले अमेरिकामा नै विताइन् । एपी वान टेलिभिजनले सुरु गरेको ‘किताव जात्रा’ को ‘पर्दा भित्र र पर्दा बाहिर’ सेसनमा अभिनेत्री मानन्धरले कर्ण शाक्यको किताबमा उल्लेख भएका तीन वटा शब्दले आफूलाई नेपाल फर्काएको बताएकी छन् ।
‘मेरो जीवनमा प्रभाव परेको किताब कर्ण शाक्यको हो, जसबाट प्रभावित भएर मैले जीवनमा नै लागू गरेँ । त्यो किताब विनोद जी (मानन्धर) ले गिफ्ट गर्नुभएको थियो । त्यसबेला म अमेरिकामा बसिरहेको थिएँ । म त्यहाँ बस्न चाहन्न थिएँ । तर, नेपाल फर्किन पनि सकेको थिइनँ । अमेरिकामा नै बस्ने वा नेपाल फर्किने भन्ने निर्णय लिन मलाई अत्यन्त कठिन भएको थियो,’ उनले भनिन् ।

करिश्मा अगाडि भन्छिन्, ‘त्यो अवस्थामा कर्ण शाक्यको किताबमा भनिएको तीनवटा कुराले मेरो जीवनमा एउटा निर्णय लिने शक्ति प्रदान गर्यो । किताबमा भनिएको थियो, जब मान्छे देश छाडेर विदेश जान्छ तब ऊ रुटलेस, नेमलेस र फेशलेस हुन्छ । त्यो ठाउँमा तिमी आफूलाई कसरी टिकाउन सक्छौं भन्ने कुराले मलाई असाध्धै छायो । म बस्ने धर्ती त मुलुकै हो भनेर नेपाल फर्किएँ ।’
उनले चारवर्षदेखि आफ्नो आत्मकथा आफैं लेखिरहेको पनि बताएकी छन् । उक्त कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले करिश्मा मानन्धरको आत्मकथा आए धेरैका लागि प्रेरणा हुनसक्ने बताए । उनले करिश्मालाई जीवनप्रतिको उद्येश्य, जीवन भोगाइ र चुनौतीहरु आत्मकथामा समेट्न सुझाव दिए । करिश्माले यी सबै कुरा आफ्नो आत्मकथामा उतार्ने प्रयासमा रहेको बताइन् ।