पहिलो पटक म्यूजिक भिडियोमा अभिनेता पल शाहले हास्य कलाकार द्वय दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’ सँग काम गरेका छन् । ‘इस’ बोलको भिडियोमा उनीहरुले एकसाथ अभिनय गरेका छन् । पलले यसअघि दीपाश्रीसँग भने चलचित्र ‘शत्रु गते’ मा काम गरेका थिए । दीपाश्रीले म्यूजिक भिडियोको ‘किंग’ सँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

बिहीवार उक्त गीत सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘लकडाउनमा म्यूजिक भिडियो निर्माण ठप्प थियो । जसका कारण यही क्षेत्रमा आश्रित प्राविधिकदेखि कलाकारहरुलाई आर्थिक समस्या उत्पन्न भएको थियो । त्यसबेला उहाँ (पल शाह) ले गरमागरम बनाउनु थियो । लकडाउनमा धेरै प्राविधिकहरु बेरोजगार भएका थिए । अहिले सबैले रोजगार पाउनुमा म्यूजिक भिडियोको ठूलो हात छ ।’
त्यस्तै, कलाकार केदार घिमिरेले पल म्यूजिक भिडियो र चलचित्र दुवैको ‘किंग’ रहेको बताए । लकडाउनमा सेलाएको इन्डस्ट्रीलाई जागरुक बनाउन पलले महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै उनले भने- ‘लकडाउनमा पल शाहले म्यूजिक भिडियोमा काम गरिदिँदा धेरैको घरमा चुलो बल्यो । उहाँसँग पहिल्यैदेखि काम गर्ने इच्छा थियो । यसपटक संयोग जुर्यो, एकदमै खुसी छु ।’




