अभिनेता अनमोल केसीका डुब्लिकेटको रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठलाई अब चलचित्रमा देख्न पाइने भएको छ । एक दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका उनले निर्माणधिन चलचित्र ‘चुरीफुरी’ मा मुख्य भूमिकामा काम गरेका छन् । उनीसँगै यो चलचित्रबाट पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजिवजंग बस्नेतले पनि अभिनयमा डेब्यू गरेका छन् ।
निर्देशक ऋषिराज आचार्यले पुष अन्तिमबाट नायक-नायिकाको नाम गोप्य राख्दै चलचित्रको छायांकन सुरु गरेका थिए । चलचित्रको सुटिङ सकिने समयमा नायक-नायिका सार्वजनिक गरिएको हो । निर्देशक आचार्यले अभिषेकसहित सबै नयाँ अनुहारहरु अडिसनबाट चयन गरिएको जानकारी दिए । उनका अनुसार, अडिसनमा करिब ८ सय युवा-युवतीले प्रतिस्पर्धा गरेका थिए ।

चलचित्रमा रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक आचार्य स्वयं निर्माता रहेको चलचित्रको कथा उनकै हो ।
समसामयिक विषयमा निर्माण भइरहेको चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ । रिना ढकाल निर्माता रहेको चलचित्रको सह-निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । नविन निरौलाले सम्पादन गर्ने चलचित्रमा राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको छ ।