पछिल्लो समय नेपाली चलचित्रको नाम चलनचल्तीमा रहेका शब्द र उखान टुक्काबाट राखिने गरिएको छ । यस्तैमा प्रायः नेपालीहरुको मुखबाट कुराकानीको क्रममा फुत्किरहने ‘तेस्का बाजे’ नाममा पनि चलचित्र निर्माण हुने भएको छ । कमेडी जनरामा निर्माण हुने यो चलचित्रको सोमवार ललितपुरस्थित चामुण्डामाई मन्दिरमा मुहूर्त गरेर औपचारिक निर्माण घोषणा गरिएको छ ।

बिजी बर्मा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा केही कलाकार फाइनल भएको र केही चाँडै छनोट गरिने निर्देशक कल्याण अधिकारीले जानकारी दिए । मुहूर्त समारोहमा भने चलचित्रमा फाइनल भएका कलाकारको नाम गोप्य राखियो । कला राई प्रस्तुतकर्ता, राम महर्जन र शत्रुधन अन्सारी निर्माता रहेको चलचित्रले समाजिक विषयवस्तु उठान गर्ने निर्देशक अधिकारीले बताए ।
चैतको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रमा दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्राफी, ओमप्रकाश राई, राजु लामा, कृष्णकुमार राई र अभिषेक सिंहको संगीत, राजेशपायल राई, मेलिना राई, केशव शाही ठकुरी र अनुपमा राईको स्वर रहनेछ । निर्देशक अधिकारीले चलचित्रको छायांकन काठमाडौं, धरान, इलाम, झापामा हुने जानकारी दिए ।




