दुुई वर्ष अगाडि चलचित्र ‘अनुराग’ निर्माण गर्दै एलिजा गौतमले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो चलचित्रपछि म्यूजिक भिडियोमा व्यस्त रहेकी उनले गएको महिना निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् । चलचित्रमा उनको अपोजिटमा अभिनेता गौरव पहारीलाई अनुबन्ध गरिएको थियो । तर, अब यो चलचित्रमा एलिजाले काम नगर्ने भएकी छन् ।

उनले मंगलवार निर्देशक श्रेष्ठलाई म्यासेजमार्फत् चलचित्र गर्न नसक्ने जानकारी दिएर क्यानडा उडेकी छन् । पिता विरामी भएर क्यानडा जानुपर्ने भएपछि एलिजाले चलचित्र गर्न नसक्ने भएको निर्देशक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बुबा विरामी हुनुहुन्छ भनेपछि मैले जबरजस्ती गर्ने कुरा आउँदैन । भवितव्य पर्न गएपछि कसको के लाग्छ र ! आमा-बुबाभन्दा ठूलो चलचित्र होइन ।’
चलचित्रको छायांकन फागुन ४ गतेबाट सुरु हुँदैन । एलिजाले आफू नेपाल फर्किने अनिश्चित भएको बताएपछि अहिले चलचित्रका लागि अभिनेत्रीको खोजी भइरहेको निर्देशक श्रेष्ठले बताए । ‘एलिजाजीले मलाई नकुर्नुहोला, काम अगाडि बढाउनुहोला भन्नुभएको छ । त्यस्तैले केही दिनमा नायिका छनोट गरेर फ्लोरमा जानेछौं । बाँकी कलाकार भने फाइनल भइसकेका छन्,’ उनले भने ।






