नेपालका सबै हिरो व्यस्त छन् : दीवाकर भट्टराई



निर्देशक दीवाकर भट्टराई यतिबेला नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’ को तयारीमा छन् । यो चलचित्रका लागि एक वर्ष अगाडि उनले अभिनेता द्वय पल शाह र निराजन प्रधानसँग कुराकानी गरेका थिए । पल र निराजनसँँग उनको मौखिक सहमति नै भएको थियो । तर, अब यो चलचित्रमा भारतीय कलाकार रोहित सुचान्तीको प्रवेश भएको छ । निर्माण टिमले बिहीवार यसबारेमा जानकारी दिएको हो ।

सुचान्तीले ‘तुने प्यार क्या किया’, ‘रिश्ता लिखंगे हम नयाँ’ जस्ता टेलिसिरियलमा काम गरिसकेका छन् । उनले ‘बोग बोस १२’ मा समेत भाग लिएका थिए । गएको महिना भारत भ्रमणको क्रममा दीवाकरले उनीसँग कागजी सम्झौता गरेका हुन् । अब ‘तिमीसँगै हुने मन छ’ मा सुचान्तीले अभिनेत्री दीपिका प्रसाईंसँग रोमान्स गर्नेछ । चलचित्रको छायांकन आउँदो चैत पहिलो साताबाट हुनेछ ।

निर्देशक भट्टराईले चलचित्रका लागि भारतबाट हिरो झिकाउनुले नेपालमा राम्रो हिरो नै नभएका हुन् त ? भन्ने प्रश्न उब्जाएको छ । यसबारेमा उनी भन्छन्, ‘नेपालमा हिरो नै नभएका भन्ने होइन । कतिपय अवस्थामा कथा र सिच्वेसनको माग हुन्छ । अनि अर्को कुरा नेपालका सबै हिरो व्यस्त छन् । एक-दुई वर्षसम्म प्याक छन् । उहाँहरुलाई २ वर्ष कुर्न म बेरोजगार बस्न पनि त भएन ।’

चलचित्रमा सुचान्तीलाई अनुबन्ध गर्नुको कारण कथाको माग रहेको उनी बताउँछन् । चलचित्रको मुख्य भूमिकामा भारतीय कलाकार भए पनि भाषागत समस्या आउने खालको क्यारेक्टर नभएको उनको भनाई छ । उनका अनुसार, सुचान्ती नेपाल आएपछि वर्कसपमा भाषाको विषयमा छलफल हुनेछ । यो चलचित्रमा छायाँकारदेखि अन्य टेक्निकल टिम समेत भारतबाट आउनेछन् ।

नेपाली चलचित्रलाई ग्रेडको हिसाबले माथि लैजान आफूले भारतको टिमसँग काम गर्न लागेको उनी बताउँछन् । नेपाली चलचित्र पनि स्तरीय बन्दो रहेछ भन्ने माहोल बनाउन आफूले चुनौती मोल्न लागेको उनको भनाई छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र प्रेमकथामा आधारित हुनेछ । दीवाकर ‘तिमीसँगै हुने मन छ’ लाई भारतमा पनि प्रदर्शन गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu