‘तिम्रो मेरो साथ’ प्याकअप, नेपालअघि विदेशमा प्रदर्शन हुने



अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को सम्पूर्ण छायांकन सकिएको छ । छायांकन सुरु भएको ३३औं दिनमा शनिवार पोखरामा चलचित्र प्याकअप भएको हो । काठमाडौंपछि पोखरामा चलचित्रको केही दृश्य खिचिएको थियो । पोखरामा शनिवार एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको छायांकन सकिएको जानकारी गरायो ।

चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको कार्यक्रममा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले चलचित्रको छायांकन अवधिभर साथ र सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । ‘रुद्रप्रिया र रज्जा रानी’ चलचित्रको निर्माण गरिसकेका उनले ‘तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्र निर्माणबाट बटुलेको अनुभवलाई आफूले निर्देशनमा खन्याएको उनले बताए ।

त्यस्तै, पुष्प खड्काले फिल्म राम्रो बनेको दाबी गर्न सकिने अवस्था रहेको बताए । उनले भने- ‘चलचित्र सबै वर्ग, तह र तप्काका दर्शकहरूको रूचिलाई ध्यानमा राखेर निर्माण गरिएको छ । मेरो भूमिका पनि केही फरक लाग्नसक्छ ।’ कलाकार सन्दिप क्षेत्रीले भने यो चलचित्रले आफ्नो कलाकारिताको यात्रामा नयाँ फड्को मार्ने दाबी गरे । कार्यक्रममा साम्राज्ञी भने उपस्थित थिइनन् ।

कार्यक्रममा चलचित्रका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि आफ्नो धारणा राखेका थिए । यो चलचित्र नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरूमा प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । नेपालमा भने आउँदो वर्षको दशैं र तिहारको बीचमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।

बोधी एचडि र आर्यन फिल्मसको ब्यानरमा बनेको चलचित्रमा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ । योगेश काजीको संगीत रहेको चलचित्रका निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । निर्माण टिमले सुटिङ अवधिभर पुष्प, साम्राज्ञी र सन्दिपलाई बडिगार्डको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu