प्रेम गर्नेहरुको महत्वपूर्ण दिन मानिने भ्यालेन्टाइन डेको अवसर पारेर सन् २००८ मा प्रदर्शन भएको स्वर्गीय आलोक नेम्वाङ निर्देशित चलचित्र ‘सानो संसार’ १३ वर्षपछि सिनेमा हलमा पुनः प्रदर्शनमा आएको छ । शुक्रवारबाट क्यूएफएक्सहित विभिन्न मल्टीप्लेक्स हलमा चलचित्र रि-रिलिज भएको हो । चलचित्रमा कर्मा, नम्रता श्रेष्ठ, नीर शाह, विनय श्रेष्ठ, जीवन लुईटेलको मुख्य भूमिका छ ।

क्यूएफएक्सका मालिक नकिम उद्दिन, राजेश सिद्धि र भाष्कर ढंगानाले निर्माण गरेको चलचित्र त्यसबेला समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । यो नेपालमा निर्माण भएको दोस्रो डिजिटल चलचित्र समेत हो । यही चलचित्रबाट नम्रताले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । सन् २०१३ मा यूट्युबमा सार्वजनिक भइसकेको ‘सानो संसार’ रवि (कर्मा) र ऋतु (नम्रता) को वरिपरी घुमेको छ ।
कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि ९ महिनासम्म बन्द भएका सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आए पनि दर्शकको उपस्थिति उत्साहजनक छैन । नयाँ नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ र साउथ चलचित्र ‘मास्टर’ ले समेत हलमा दर्शक तान्न सकेन । अब सबैको आश चैत २७ मा रिलिज हुने तीन चलचित्र ‘मनसँग मन, कृष्ण लीला र लप्पन छप्पन २’ मा छ ।




