विगत २५ वर्षदेखि नेपाली चलचित्रमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयालले अब चलचित्र निर्माण गर्ने भएका छन् । उनी चलचित्र ‘प्रेमगन्ज’ बाट निर्माता बन्न लागेका हुन् । आइतवार भ्यालेनटाइन डेको अवसर पारेर सामाजिक सञ्जालको माध्यमबाट चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्र पूर्णत प्रेमकथामा आधारित हुने बताइएको छ ।

परिच्छेद सेनको निर्देशनमा बन्ने चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । चलचित्रका लागि अहिलेसम्म कलाकार भने छनोट भएका छैनन् । चलचित्र चौतारीको ब्यानरमा चलचित्र निर्माण हुनेछ । थुप्रै सर्ट चलचित्रहरुको निर्देशन गरिसकेका सेनले यसअघि फिचर चलचित्र ‘म’ निर्देशन गरेका थिए । लभस्टोरी जनरामा निर्माण हुने ‘प्रेमगन्ज’ लाई उत्कृष्ट बनाउने उनको दाबी छ ।
पहिलो पटक चलचित्र निर्माणमा हात हाल्न लागेका राजु अहिले एक भोजपुरी चलचित्रका लागि भारतमा छन् । उनले अहिलेसम्म लगभग तीन सय बढी चलचित्रमा स्पट ब्वाईको रुपमा काम गरिसकेका छन् । उनी चलचित्र क्षेत्रमा पाइला राख्दा जम्मा ११ वर्षका थिए । आफ्नो जीवनको आधा हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।