नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कलाकारहरु राष्ट्रका गहना नभइ गौरव रहेको बताएका छन् । शनिवार राजधानीमा आयोजित नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने- ‘कलाकारहरु भनिरहँदा गौरव लाग्छ । कतिपयले बोल्ने बेला भनिदिनुहुन्छ, कलाकारहरु राष्ट्रका गहना हुन् । माफ गर्नुस्, कलाकारहरु राष्ट्रका गहना होइनन् ।’
उनले थपे- ‘मदनकृष्ण दाई, नीर शाह दाई वा अग्रज कलाकारलाई म कति मुल्य तोकूँ ? गहनाको मुल्य हुन्छ तर कलाकार गहना होइनन् । कलाकार भनेको गौरव हो । गौरवको कुनै मुल्य हुँदैन । गौरव आफैंमा बहुमुल्य हुन्छ । कलाकारहरुको बहुमुल्य तागतलाई देशको पहिचान हो भनेर राज्यले चिन्नुपर्छ ।’ राष्ट्र निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले चर्चा गरे ।

नेपाललाई विश्वसामु पहिचान दिँदै गर्दा अब राजनीतिलाई अघिल्लो पंंक्तिबाट पछिल्लो पंक्तिमा सारेर अघिल्लो पंक्तिमा कला, साहित्यहरु आउनुपर्नेमा उनले जोड दिएका छन् । कुनै पनि राजनीतिक दल वा समाजका व्यक्तिले चलचित्रलाई मनोरञ्जनको रुपमा मात्र बुझे अधुरो र अन्याय हुने पनि उनले बताए । नेपाली चलचित्रले देश निर्माणमा सहकार्य गरिरहेको नेता शर्माको कथन छ ।
चलचित्रको पाँचवटा आयाम हुने बताउँदै उनले अगाडि भने- ‘पहिलो नम्बरमा चलचित्र मनोरञ्जन नै हो । दोस्रो भनेको रोजगारी हो । अर्को भनेको राजश्वमा योगदान । चलचित्रले समाजका कयौं मुद्धाहरुलाई उठाएर पनि देशमा ठूलो योगदान गरेको छ ।’ चलचित्र क्षेत्रलाई उद्योगको रुपमा थप व्यवस्थित गरेर लैजान राजनीतिक दलहरुले साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको धारणा छ ।
उनले आफू नेपाली चलचित्रको दर्शक रहेको र आफ्नो रोजाईमा सधैं नेपाली चलचित्र हुने गरेको बताए । ‘बाल्यकालमा ‘सन्तान, साइनो, सम्झना’ जस्ता चलचित्रहरु झापाका हलमा हेरेर हुर्किएको हुँ । अहिले पनि परिवारसँग झापा वा काठमाडौंका हलमा गएर नेपाली चलचित्र हेर्ने गरेको छु । अन्य देशका चलचित्रका धेरै चर्चा हुँदा पनि मेरो छनोटमा सधैं नेपाली चलचित्र पर्छ,’ उनले भने ।