मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पर्पला’ बाट झापाकी निखिला बुढाथोकीले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । पाँच वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी पेशाले नर्स हुन् । अष्ट्रेलियामा कुशल बेली डान्सरको रुपमा चिनिने उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । चलचित्रमा डेब्यू गर्न भने उनी राम्रो स्क्रिप्टको पखाईमा थिइन् ।
हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टे मनपर्ने बुढाथोकी नेपालमा भने तृप्ति नाडकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन् । भविष्यमा सफल अभिनेत्रीको रुपमा स्थापित भएर स्वदेश तथा विदेशमा आफ्नो क्षमता देखाउने चाहना रहेको उनले बताएकी छन् । उनलाई यसअघि पनि थुप्रै नेपाली चलचित्रबाट अफर भएको थियो ।

अस्ट्रेलियामा नै निर्माण भएको ‘पर्पला’ को कथाले मन छोएपछि काम गरेको निखिलाको भनाई छ । अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटनालाई चलचित्र आधारित छ । अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको प्रस्तुतकर्तामा भानु प्रताप रहेका छन् । चलचित्रमा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारीलगायतको पनि अभिनय छ ।
रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली र छवि अधिकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा शृजना लुहागुन, सरस्वती गौतम र भिम बहादुर रसाइली छन् । कश्मिर डिक्सनको छायांकन रहेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेल गरेका हुन् । केही समयमा प्रदर्शन मिति घोषणा गरेर चलचित्रको प्रचार सामाग्रीहरु सार्वजनिक गरिने प्रस्तुतकर्ता प्रतापले जानकारी दिए ।




