चलचित्र ‘प्रकाश’ को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्देशक दिनेश राउत र अभिनेता प्रदीप खड्काबीच पहिलो पटक सहकार्य भएको चलचित्रको मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंस्थित होटल याक एन्ड यतीमा ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । चलचित्रको आउँदो फागुनबाट जुम्लाको एक विकट गाउँमा छायांकन सुरु हुँदैछ ।

चलचित्रमा प्रदीपको जोडी नव-अभिनेत्री रेनु योगीसँग बाँधिएको छ । रेनुलाई निर्माण टिमले अडिसनबाट छनोट गरेको हो । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । राजेश श्रेष्ठले खिच्ने चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

चलचित्रले जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने निर्देशक राउतले बताए । ‘म चलचित्रमा पात्रको भावना र अन्तरद्वन्दसँग बढि खेलिरहेको हुन्छु । यो चलचित्रमा पनि मैले त्यसरी नै पात्रको जीवनको भोगाइ र मनोविज्ञानलाई पस्कने प्रयास गर्नेछु । दुर्गम गाउँको गरिब परिवारको युवाको भावनासँग केन्द्रित रहेर चलचित्र बन्नेछ,’ उनले भने ।

पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गर्न लागेका प्रदीपले चलचित्रको विषयवस्तुले लाखौंलाई शिक्षित गर्नसक्ने बताए । उनले भने, ‘चलचित्रमा म यस्तो प्रकाश बन्न गइरहेको छु, जसले धेरैको मन मस्तिष्कमा एउटा ज्योतिको झिल्को जलाउन सक्छ । त्यो क्षमता स्क्रिप्टमा देखेर नै चलचित्रमा आबद्ध भएको हुँ । अहिले म आफ्नो चरित्रलाई न्याय गर्न जुम्लाको भाषा सिकिरहेको छु ।’

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ । महेन्द्र अधिकारीले निर्माण गर्ने चलचित्रमा उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको चलचित्रलाई आरआर फिल्मस् (रत्न श्रेष्ठ र रोहित कट्टेल) ले वितरणको जिम्मा लिएको छ ।




