चलचित्र पत्रकार संघद्वारा फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु



चलचित्र पत्रकार संघ नेपालको आयोजनामा बिहिबारबाट तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको हो । ६ देखि ८ गतेसम्म हुने कार्यशाला चलचित्र विकास बोर्डको नवनिर्मित ‘नवरस हल’ मा भइरहेको छ । कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी छन् ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको कार्यशालाको उद्घाटन सत्रमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।

कार्यशालाबाट लगनशिलता र अनुशासन सिक्न उनले पत्रकारहरुलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले आफ्नो पेशाप्रतिको लगनशिलता र अनुशासनलाई सधैं पहिलो सर्त बनाउन पनि आग्रह गरे । राजनीतिक पत्रकारिता गर्नेहरुले चलचित्र पत्रकारितालाई कुनामा राख्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले चलचित्र पत्रकारिता राजनीतिक पत्रकारिताभन्दा अगाडि आउनुपर्ने बताए ।

कार्यक्रममा उनले भने- ‘राजनीतिक पत्रकारिताभन्दा चलचित्र पत्रकारिता किन अगाडि आएन भनेर समीक्षा गर्नुपर्छ । एउटा वर्गका लागि एउटा राजनीतिक पत्रकारिता मनपर्छ । अर्को पक्षलाई अर्को राजनीति पत्रकारिता मनपर्छ । तर, चलचित्र पक्ष वा विपक्षको हुँदैन । चलचित्र समग्रतामा हुन्छ । यसले समग्रतामा समीक्षा गर्छ । त्यसैले चलचित्र पत्रकारिता सबैभन्दा अगाडि आउनुपर्छ ।’

चलचित्र पत्रकार वा समीक्षकमा चलचित्रको स्वरुप नै बदल्न सक्ने तागत रहेको उनले बताए । अध्यक्ष दाहाल अगाडि थप्छन्, ‘एउटा बाटोमा हिँडिरहेको सिनेमाको धारलाई अर्को बाटोमा लैजान सक्छ । चलचित्र पत्रकारले सिनेमा बनाउन जान्नु पर्दैन, उसले प्रयोग गर्ने भाषा र समीक्षाले चलचित्रको लेखन वा निर्माण शैलीको स्वरुपलाई नै उत्कृष्ट शैलीमा पर्दापण गराउन मद्दत पुर्‍याउँछ ।’

चलचित्र पत्रकार संघका अध्यक्ष सिटौलाले कोरोना महामारीको समयमा चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे । नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको उनले बताए । उनले चाँडै संघले विभिन्न कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता जनाएका छन् ।

कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् । फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बन्नेमा चलचित्र पत्रकार संघका महासचिव समिर बलामीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu