कोरोनाका कारण करीब ९ महिना बन्द रहेका सिनेमा हल पुष १० गतेबाट खुले । कोरोनाको डर विर्सिएर सडकदेखि सवारी साधनसम्म देखिएको अत्यासलाग्दो भीड हेर्दा सिनेमा हलमा पनि चलचित्र हेर्न दर्शक आउने हल सञ्चालकहरुमा विश्वास थियो । तर, सिनेमा हल खुलेको दुई महिना भइसक्दा पनि दर्शकको उत्साहजनक उपस्थिति छैन । न त हलमा नयाँ चलचित्र नै छन् ।
आशातित नयाँ नेपाली, हलिउड र बलिउड चलचित्र प्रदर्शनमा नआउँदा दर्शकको भीड सिनेमा हलसम्म पुग्न सकेको छैन । जसले गर्दा कति हलहरु बन्द हुने अवस्थामा पुगेका छन् । निर्माताहरु नयाँ चलचित्र प्रदर्शनका लागि तयार नहुँदा अहिले सिनेमा हलमा पुराना चलचित्र रि-रिलिज भइरहेका छन् । भ्यालेनटाइन डेबाट १३ वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘सानो संसार’ रिलिज भयो ।

त्यस्तै, यही सोमवारबाट गत वर्षको सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ लाई पुनः प्रदर्शन गरिएको छ भने शुक्रवारबाट १३ वर्ष पुरानो अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘कागबेनी’ रि-रिलिज भएको छ । यो चलचित्र क्यूएफएक्स चेनमा मात्र प्रदर्शनमा आएको छ । भुषण दाहाल निर्देशित चलचित्रलाई क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन, भाष्कर ढुंगानाले निर्माण गरेका हुन् ।
नयाँ चलचित्र नहुँदा मल्टीप्लेक्सहरुमा हिन्दी डब चलचित्र ‘मास्टर’, चिनियाँ सुपरहिरोइन चलचित्र ‘मूलन’ र हलिउड चलचित्र ‘मोन्स्टर हन्टर’ को प्रदर्शन यथावत छ । तर, यी कुनै चलचित्र हेर्न हलमा दर्शक छैनन् । अब सबैको आश चैत २७ मा छ । यो मितिमा ‘लप्पन छप्पन २, मनसँग मन र कृष्ण लीला’ प्रदर्शनको तयारीमा छन् । यी तीनै चलचित्रले हलमा दर्शक तान्ने अपेक्षा धेरैको छ ।




