अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले दोस्रो पटक चलचित्र ‘तिम्रो मेरो साथ’ मा सँगै काम गरेका छन् । शुक्रवार साम्राज्ञीले आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् चलचित्रको सेटमा खिचेका पुष्पसँगका रोमान्टिक तस्विरहरु साझेदार गरेकी छन् । जसमा उनीहरु पोखराको एक होटलको छतमा बनाइएको स्विमिङ पुलमा चलचित्रका लागि सिन दिँदै देखिएका छन् ।

तस्विरमा पुष्प टपलेस छन् । माघको जाडोमा चलचित्रको छायांकन भएका कारण स्विमिङ पुलमा सिन दिँदै गर्दा साम्राज्ञी र पुष्पलाई निकै जाडो महशुस भएको तस्विर हेर्दा अनुमान गर्न सकिन्छ । तस्विरको पुष्ठभूमिमा चाँदीझैँ टल्किएको हिमाल पनि देख्न सकिन्छ । साम्राज्ञीले पुष्पसँगका तस्विर सार्वजनिक गर्दै आफ्नो कामको आनन्द लिने मान्छेले जे पनि गर्न सक्ने उल्लेख गरेकी छन् ।

यो चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । ‘तिम्रो मेरो साथ’ मा शिव ढकालको छायांकन, सविर श्रेष्ठको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र योगेश काजीको संगीत छ ।