चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । बिहीवारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिवार सम्पन्न भएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी थिए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको बताए । उनले सहभागीमध्ये एक जना उत्कृष्ट फोटो खिचेर पठाउनेलाई बोर्डले बार्षिकोत्सवमा पुरस्कृत गर्ने पनि घोषणा गरेका छन् ।

संघले प्रशिक्षार्थीमध्येबाट उत्कृस्ट फोटो खिच्नेमध्येबाट एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरेको छ । कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए । कार्यशालाको संयोजन संघका संगठन उपाध्यक्ष कुबेर डंगोलले गरेका थिए ।




