अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रेम सम्बन्धमा रहेको चर्चा चल्न थालेको धेरै भइसकेको छ । चलचित्र र म्यूजिक भिडियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यो जोडीले गत वर्षको फागुनमा नै विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, यसलाई उनीहरुले अफवाह बताएका थिए ।

अब भने अभिनेता आकाश श्रेष्ठ यसै वर्ष विवाह गर्ने तयारीमा देखिएका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले विवाहका लागि उमेर भएका कारण दर्शकहरुले चाँडै खुसीको खबर सुन्न पाउने बताएका छन् । उनले भनेका छन्, ‘म विवाहको प्लानिङ गरिरहेको छु । यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला । सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’
तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् । यद्यपि, आफ्नो ‘इन्टरकास्ट म्यारिज’ हुनसक्ने उनको भनाई छ । उनले चलचित्र क्षेत्रमा आफूले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् । ‘म आज जुन स्थानमा छु त्यसमा उहाँको पनि हात छ । हामीबीच जुन सम्बन्ध छ, त्यो कहिल्यै नबिग्रियोस् भन्ने चाहन्छु । बिहेको कुरामा चाहिँ अहिले नै भन्न सक्दिनँ,’ उनले भने ।




