सुपरहिट दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक अधिकार लिएको युवा फिल्म्सले चलचित्रका लागि मुख्य नायक र मुख्य नायिकासँगै सपोर्टिङ रोलका लागि अडिसन आह्वान गरेको छ । ‘सेल्फी किङ्ग’ बाट निर्देशनमा डेब्यू गरेका विशाल सापकोटाले निर्देशन गर्ने चलचित्रका लागि अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा इमेल गर्न सक्नेछन् ।
चाँडै अडिसन आयोजना गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको नेपाली रिमेकको नाम भने तय भइसकेको छैन । करिब १ वर्ष अगाडि नै निर्माण घोषणा गरिएको चलचित्र कोरोना भाइरसको महामारीका कारण छायांकनमा निस्कन सकेको थिएन । ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक अधिकार युवा फिल्म्सले भारतीय १० लाख (नेपाली १६ लाख) मा खरिद गरेको जानकारी प्राप्त छ ।

साउथ स्टार विजय देवगरकोन्डा अभिनीत ‘अर्जुन रेड्डी’ लाई सन्दीप रेड्डी भङगाले निर्देशन गरेका थिए । चलचित्रले बक्सअफिसमा ५१ मिलियन कमाई गरेको थियो । यसको हिन्दी रिमेक ‘कबिर सिंह’ ले पनि साढे तीन सय करोडभन्दा बढी छापेको थियो । यसमा शाहिद कपूर र कायरा अडवानी मुख्य भूमिकामा थिए । अब यो चलचित्रको नेपाली रिमेक निर्माण हुँदैछ ।
‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले गत वर्ष अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रको निर्मातामा आशिष श्रेष्ठ पनि रहेका छन् । कलाकार छनोटपछि चलचित्रको छायांकन सुरु हुनेछ ।




