‘वरदान’ मा दयाहाङ र नम्रता



अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले ‘वरदान’ नामक छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै चलचित्रमा अभिनय गरेका हुन् ।

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय चलचित्रमा उठाइएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । चलचित्र कोसिस नेपालले निर्माण गरेको हो ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा चलचित्र बनाउने सोच पलाएको निर्देशक दीपेन्द्रले बताए । ‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,’ दीपेन्द्रले भने, ‘डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

चलचित्रको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रता बताउँछिन् । ‘मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु,’ नम्रताले भनिन्, ‘यो चलचित्रले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।’

करिब २० मिनेट अवधिको हुने चलचित्रमा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको चलचित्र केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu