नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा छनोट भएका चलचित्रको लिस्ट सार्वजनिक भएको छ । आउँदो मे ६ देखि १० सम्म काठमाडौंमा हुने महोत्सवमा ५२ देशका ४ सय ५० बढी चलचित्र सहभागी भएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । उनले कोरोनाको कारण सिर्जित महामारीको कारणले नेपाली फिचर चलचित्रको सेलेक्सनलाई बाँकी राख्दै ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनोट भएको बताए ।

कोरोनाका कारण नेपाली चलचित्र प्रदर्शनमा आउन बाँकी रहेको र निर्माताहरुबाट समय माग भएकाले नेपाली चलचित्रलाई थाती राखेर अन्य प्रतिस्पर्धी सार्वजनिक गरिएको अध्यक्ष पाठकले जानकारी दिए । यो वर्ष कोरोना महामारीको विषयमा बनेका चलचित्रलाई पनि अलग्गै विधामा प्रतिस्पर्धा गराइनेछ । कोभिड १९ ले पारेको प्रभावमा बनेका चलचित्रले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलरको गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड, उत्कृष्ट फिचर नेपाली चलचित्रलाई १ लाख र उत्कृष्ट सर्ट नेपाली चलचित्रलाई ५० हजार प्रदान गरिनेछ ।




