जन्मदिनमा पल शाहलाई फर्केर हेर्दा…



अभिनेता पल शाह सोमवारबाट ३१ वर्षका भएका छन् । २०४६ साल फागुन १० गते दाङमा जन्मिएका उनलाई चलचित्रकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । कठोर संघर्षपछि आज सफल नायक र मोडल बनेका उनलाई विकासराज आचार्यले चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट लिड हिरोको रुपमा ब्रेक दिएका थिए ।

यो चलचित्रपछि उनले आजसम्म करिअर फर्केर हेर्नुपरेको छैन । सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गाीत गाउँछु’ को सफलताले करिअरको उत्कर्षमा पुगेका उनले ‘जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम २’ मा नायकको रुपमा काम गरिसकेका छन् भने ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । त्यस्तै, उनको पाइपलाइनमा ‘दुई नम्बरी, सत्यम् र हुतुतु’ छन् ।

म्यूजिक भिडियोमा काम गर्न थालेपछि पूर्ण विक्रम शाहबाट पल शाह भएका उनी दाङबाट काठमाडौं हिरो बन्न आएका थिएनन् । एसएलसी पास गरेर उनी आर्मी बन्न काठमाडौं छिरेका थिए । त्यसबेला उनी भर्खर १८ वर्षका थिए । काठमाडौं आएपछि उनले आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना त्यागेर अर्कै बाटो हिँडे । जसकारण आज उनी सफल नायक र मोडल बनेका छन् ।

आमा-बुबाको न्यानो काख छाडेर जन्मथलो दाङबाट सपनाको शहर काठमाडौं आएपछि उनका कठोर संघर्षका दिनहरु सुरु भए । काठमाडौंमा टिक्न उनले दिउँसो कलेज जाने र साँझमा ट्याक्सी चलाउने योजना बनाए । ट्याक्सी चलाउन उनले तीन महिना ड्राइभिङ पनि सिके । तर, लाइसेन्सका लागि आवेदन दिन जाँदा १८ वर्ष पूरा नभएका कारण उनको फाराम नै दर्ता भएन ।

ड्राइभर बन्न नसकेर निराश भएका पललाई मामाका छोरा नितिन चन्द (जोनी जेन्टलम्यान निर्देशक) र नमित चन्द (मोडल) ले एडिटिङ सिक्न सल्लाह दिए । यो नै उनका लागि कला क्षेत्रमा प्रवेश गर्ने बाटो बनेको थियो । एडिटिङ सिकेपछि उनले एनटिभी प्लस र तराई टिभीमा एडिटिरको रुपमा काम गरे । उनले भारत पुगेर ‘टि–सिरिज’ मा ११ महिना एनिमेसन पनि सिकेका थिए ।

आर्थिक संकटका कारण तराई टिभी बन्द भएपछि ११ महिनाको तलब नपाउँदा कोठा भाडा तिर्न नसकेर घरबेटीले उनको कोठामा ताला नै लगाइदिएका थिए । उनीसँग खाजा खाने पैसा समेत हुन्न थियो । उधारो खाएको पसलबाट लुकेर हिँड्थे । आज उनै पल शाहको भाग्य बदलिएको छ । कुनै समय कोठाभाडा तिर्न पैसा नहुने उनी चाँडै काठमाडौंका स्थायी बासिन्दा बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu