‘कुकुर हराएको सूचना’ दीपक-दीपा समुहलाई अफर



दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्देशक सिमोस सुनवारसँग नयाँ चलचित्रमा टिमअप गर्ने सम्भावना देखिएको छ । यसअघि चलचित्र ‘छन् गेडी सबै मेरी’ मा उनीहरुबीच सहकार्यको चर्चा चलेको थियोे । तर, अब यो चलचित्रलाई थाती राख्दै चलचित्र ‘कुकुर हराएको सूचना’ मा दीपक-दीपा समुहसँग सहकार्य गर्ने तयारीमा सिमोस छन् ।

दुई समुहबीच चलचित्रको कथामा केही चरण छलफल भइसकेको छ । दीपक-दीपा समुहलाई चलचित्रको कथा बेजोड लागेको छ । तर, पटकथा र संवाद फाइनल नभएसम्म चलचित्र सम्झौता नगर्ने दीपकराजले बताएका छन् । अहिले लेखक प्रदीप भारद्वाज चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । पटकथा र संवादमा भने दीपकराजको समुह पनि बस्ने जानकारी प्राप्त छ ।

निर्देशक सुनवारले भने- ‘मिलेर गर्ने भनेर मौखिक सहमति जस्तो भएको छ । हामीलाई आइडिया मन परेको छ । पटकथा र संवाद फाइनल भएपछि बाँकी कुराको टुंगो लाग्छ । अहिले हामी आइडियाकै चरणमा छौं ।’ दीपक-दीपा समुहसँँग सहमति भएको खण्डमा अनमोल केसीले अभिनय गर्ने चलचित्र ‘पारस’ पछि ‘कुकुर हराएको सूचना’ निर्माण हुने उनले जानकारी दिए ।

अब ‘छन् गेडी सबै मेरी’ नबन्ने हो ? भन्ने प्रश्नमा सिमोसले भने- ‘नबन्ने भन्ने होइन । तत्काललाई पछाडि सारेका मात्र हौं । स्क्रिप्ट दीपकजीलाई पनि मन परेको हो । तर, यो उहाँहरुले गरिरहनुभएको रेगुलर (कमर्शियल) चलचित्र भयो । उहाँहरुबाट दर्शकहरुको अपेक्षा धेरै भएकाले सन्देशमुलक चलचित्र गर्ने कुरा भएपछि ‘कुकुर हराएको सूचना’ मा काम गरौं भन्ने सल्लाह भएको हो ।’

तर, ‘कुकुर हराएको सूचना’ चलचित्र विकास बोर्डमा सुदीप खड्का प्रोडक्सनको नाममा दर्ता छ । ‘लिलिबिली’ फेम्ड निर्माता सुदीप खड्काले २ वर्ष अगाडि नै विकास बोर्डबाट यो चलचित्रको निर्माण अनुमति लिएका थिए । उनले चलचित्रका लागि मुख्य भूमिकामा अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई अफर गरेका थिए । तर, विभिन्न कारणले यो चलचित्र निर्माण हुन सकेन ।

यो नाममा चलचित्र निर्माण गर्ने अधिकार अझै पनि सुदीपको कम्पनीसँग छ । यस विषयमा निर्देशक सुनवार भन्छन्, ‘पहिला यो नाममा सुदीपजीले नै चलचित्र बनाउन लाग्नुभएको थियो । पछि उहाँले नगर्ने कुरा भएपछि मैले गर्छु भनेको थिएँ । अझै पनि यो नाम उहाँसँगै छ । तर, यो विषयमा हामीबीच सहमति हुन्छ । उहाँले नाम दिन तयार हुनु भएन भने पनि समस्या छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu