चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल निर्माण हुने भएको छ । गत वर्ष प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ को सफलतापछि निर्माण टिम चौथो पार्टको तयारीमा जुटेको हो । शुक्रवार निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक थिम पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’ को औपचारिक निर्माण घोषणा गरेका हुन् ।
पोस्टरमा फिल्मको उप शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ । निर्देशक गुरुङका अनुसार, अब ‘कबड्डी’ को कथालाई विट मारिनेछ । अर्थात्, चलचित्रका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुको जुन दौडधुप थियो अब त्यसलाई टुंग्याइनेछ । कथासँगै चलचित्रको नामले पनि विश्राम पाउँछ ? भन्ने प्रश्नमा रामबाबुले ‘कबड्डी’ अब सिरिजको रुपमा आउनसक्ने संकेत गरे ।

उनले भने- ‘चलचित्रको च्याप्टर चाहिँ अब क्लोज गर्नेछौं । नाम के हुन्छ अहिले नै भन्न सक्दिनँ ।’ ‘कबड्डी’ को तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरु ‘कबड्डी ४’ मा दोहोरिने उनले जानकारी दिए । तर, कलाकारको टुंगो नलागिसकेको बताउँदै निर्देशक गुरुङले थपे- ‘चलचित्रको कथामा जोडिएका जति पनि प्रमुख पात्रहरु छन्, ती सबै दोहोरिनेछन् ।’
‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्लको प्रवेश भयो । तेस्रो पार्टमा भने विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिए । अब ‘कबड्डी ४’ मा दयाहाङ, सौगात र निश्चल एकसाथ देखिनेछन् । बैशाखबाट छायांकनमा जाने चलचित्र २०७८ मा प्रदर्शन हुनेछ ।




