दुई सन्तानलाई हुर्काउन केही वर्ष अभिनयबाट टाढा रहेकी अभिनेत्री सञ्चिता लुईटेल अब कमब्याकको तयारीमा छिन् । उनले चाँडै आफूले नयाँ चलचित्र साइन गर्न सक्ने बताएकी छन् । शुक्रवार ‘डाडु पन्यू’ रेस्टुरेन्टको उद्घाटन कार्यक्रममा उनले भनिन्, ‘मैले हिजै मात्र एउटा चलचित्रको स्क्रिप्ट लिएको छु । एग्रिमेन्ट भइसकेको छैन । मैले गर्ने भएँ भने जानकारी गराउनेछु ।’

उनले चलचित्रमा आउनुभन्दा अगाडि आफूले कहिल्यै अभिनेत्री बन्छु भनेर नसोचेको पनि बताइन् । ‘म चलचित्र धेरै हेर्थेँ । तर, पर्दामा जे देख्यो त्यही बन्छु होला भन्ने लाग्थ्यो । तर, म यही बन्छु भनेर चाहिँ कहिल्यै फोकस थिइनँ,’ उनले अगाडि भनिन्, ‘डक्टर भोला रिजालमार्फत् चलचित्रमा आउने मौका पाएँ । पहिलो चलचित्र नै निकै राम्रो भयो । त्यसपछि अवसरहरु मिल्दै गयो, काम गर्दै गएँ ।’
उनले कोरोनाको समयमा आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताएकी छन् । कोरोना कहरमा सबै परिवार विहानदेखि बेलुकासम्म सँगै बस्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै सञ्चिताले भनिन्, ‘यो समयमा आफूले जीवनमा चाहेका तर छुटाइएका कुराहरु गरियो । किताब धेरै अध्ययन गरेँ । गीत गाएर साथीहरुलाई पठाएँ । एक हिसाबले कोभिडको समय रमाइलो पनि रह्यो ।’




