नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ अमेरिकामा छायांकन गरिएको छ । चलचित्रको छायांकनका लागि गएको हप्ता निर्देशक रायमाझी अमेरिका उडेका थिए । अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा छायांकन भएको उनले जानकारी दिए । अमेरिकाको सिनमा दीलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, लोक गायक प्रेमराजा महत र प्राज्ञी सुनारले अभिनय गरेका छन् ।
अमेरिकामा छायांकनसँगै चलचित्रको सुटिङ प्याकअप भएको छ । कोरोनाका कारण विदेशमा छायांकन सम्भव नहुने देखेपछि निर्माण टिम अमेरिकाको सिन नेपालमै खिच्ने तयारीमा थियो । त्यहाँ छायांकन गर्ने माहोल दीलिपले मिलाएका हुन् । अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुमा चलचित्र निर्माण भएको हो ।

नेपालको काठमाडौं, पोखरा, पाल्पा, चितवनमा छायांकन भएको चलचित्रको कथा रमेश विजीले लेखेका हुन् । राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेको चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू प्रमुख भूमिकामा छन् । चलचित्रको प्रदर्शन मिति २०७८ सालको दशैंलाई घोषणा गरिएको छ ।
सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ । यसअघि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रको निर्देशन गरेका रायमाझी ‘परदेशी २’ ले उठान गरेको विषयवस्तुले दर्शकको मन जित्नेमा विश्वस्त छन् ।




