सयौं नेपाली चलचित्रका गीतमा कोरियोग्राफी गरेका कविराज गहतराजले अब चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । चलचित्र ‘मिरर’ बाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेता आर्यन सिग्देल मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरीले पनि काम गर्ने लगभग सहमति भएको कविराजले जानकारी दिएका छन् ।

चलचित्रको विषयमा उनले भने- ‘आर्यन जीसँग सम्झौता भइसकेको छ । उपासना पनि लगभग फाइनल हो । अहिले अरु कलाकार छनोट गर्दैछौं । बैशाखबाट छायांकनमा निस्कने तयारी छ ।’ आफूले कोरियोग्राफीको रुपमा बटुलेको अनुभवलाई इमान्दारपूर्वक निर्देशनमा खन्याउने उनले बताए । चलचित्र नृत्यकै कथामा बन्ने हो ? भन्ने प्रश्नमा उनले घोषणा अवधिसम्म पर्खन आग्रह गरे ।
आर्यन र उपासना अहिले चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रपछि आर्यनले कविराजको ‘मिरर’ लाई समय दिनेछन् । उपासनालाई भने अभिनेता राजेश हमालले अभिनय गर्ने चलचित्र ‘सत्यम्’ बाट पनि अफर भएको छ । उनी यो चलचित्र गर्न सकारात्मक रहेको बुझिएको छ । तर, उनले ‘सत्यम्’ साइन गरेको खण्डमा दुई चलचित्रको छायांकन जुध्ने देखिन्छ ।




