के हो ‘पोइ पर्‍यो काले’ को सिक्वेल विवाद ?



दुई वर्ष अगाडि प्रदर्शनमा आएको शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्‍यो काले’ को सिक्वेल निर्माण हुन लागेको खबर मंगलवार एकाएक बाहिरियो । चलचित्र ‘रंग बैजनी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका दिक्पाल कार्कीले मंगलवार आफूलाई जन्मदिनको उपहार स्वरुप निर्देशक राणाले ‘पोइ पर्‍यो काले’ को सिक्वेलमा अनुबन्ध गरेको फेसबुकमा उल्लेख गरेका थिए ।

शिशिर राणसँग सम्झौता पत्र साटासाट गरेको तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म चलचित्रबाट केही टाढा भएको अवस्थामा पनि सधैं चलचित्रमा फर्कन यहाँहरुले दिनु भएको उत्साह नै मेरो चलचित्र क्षेत्रमा रोकिसकेका कदमहरु पुनः सुचारु गर्ने प्रेरणा हो । चाँडै चलचित्रको नाम र विस्तृत जानकारी सार्वजनिक हुनेछ । चलचित्र ‘पोइ पर्‍यो काले’ को सिक्वेल रहनेछ ।’

शिशिर राणाले दिक्पाललाई ‘पोइ पर्‍यो काले’ को सिक्वेलमा अनुबन्ध गरेको समाचार प्रकाशन भएपछि यस चलचित्रका निर्माता किरण नेपालीले आपत्ति जनाएका छन् । उनले यो चलचित्रको सिक्वेल निर्माणको अधिकार निर्देशक राणासँँग नभएको र आफूले गत वर्ष नै रेड वर्ड प्रोडक्सनको ब्यानरमा चलचित्र विकास बोर्डमा ‘पोइ पर्‍यो बुढो’ नाममा सिक्वेल दर्ता गरेको जानकारी दिए ।

हाल काम विशेषले यूरोपमा रहेका उनले ह्वाट्सएपमा कुराकानी गर्दै भने- ‘शिशिर दाईले विना अनुमति र विना जानकारी ‘पोइ पर्‍यो काले’ को सिक्वेलमा दिक्पाल कार्कीलाई साइन गर्नुभएको कुरा सुनेपछि म छक्कै परेँ । यसबारेमा बुझ्न खोज्दा उहाँको फोन अफ रहेछ । म यो चलचित्रको सिक्वेल अधिकार कसैलाई दिन्नँ । म आफैं ‘पोइ पर्‍यो बुढो’ नाममा सिक्वेल बनाउन लागेको छु ।’

निर्देशक राणाले ‘पोइ पर्‍यो काले’ को सिक्वेल बनाउने भनेर प्रचार गरे वा जबरजस्ती चलचित्र बनाए आफूले कानुनी उपचार खोज्ने समेत उनले चेतावनी दिएका छन् । निर्माता नेपालीले अगाडि भने- ‘म यो चलचित्रको सिक्वेल बनाउन कसैलाई पनि अधिकार दिन्नँ । अहिले म दुई चलचित्र निर्माणको तयारीमा छु । यसपछि ‘पोइ पर्‍यो बुढो’ बनाउँछु । निर्देशक र केही कलाकार परिवर्तन हुनेछन् ।’

निर्देशक राणाले भने आफूले ‘पोइ पर्‍यो काले’ को सिक्वेल बनाउन नलागेको प्रस्ट्याउँदै नयाँ चलचित्रमा दिक्पाललाई साइन गरेको बताए । यसबारेमा उनले स्पष्टिकरण दिँदै भने- ‘दिक्पालसँग नयाँ चलचित्रका लागि कागजी सम्झौता भएको हो । उसले ‘पोइ पर्‍यो काले’ निर्देशकसँँग काम गर्न लागेको छु भनेर लेख्नुपर्नेमा सिक्वेलमा काम गर्दैछु भनेर लेखेका कारण कन्फ्यूजन भएको हो ।’

तर, दिक्पालको बोली शिशिर राणासँग छेउटुप्पो मिल्दैन । आफूलाई ‘पोइ पर्‍यो काले’ को सिक्वेलमा नै साइन गराइएको उनको दाबी छ । उनी भन्छन्, ‘मैले झुक्किएर ‘पोइ पर्‍यो काले’ को सिक्वेलमा काम गर्दैछु भनेर लेखेको होइन । म यति लामो समय चलचित्र नै गर्दिनँ भनेर बसेको मान्छे हुँ, किन झुट बोल्न पर्‍यो र ? मलाई ‘पोइ पर्‍यो काले’ को सिक्वेल भनेरै साइन गराइएको हो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu