गुट र खेमाहरु भिडेको देख्दा अब अभिनयमा पुग्यो भन्ने लागेको थिएँ : विजय लामा



तीसभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका कलाकार विजय लामाले एक समय चलचित्र क्षेत्रमा मौलाएको गुट, उपगुटले आफू अभिनयबाट टाढिने सोचमा पुगेको बताएका छन् । मंगलवार ‘गोर्खा वारियर २’ को घोषणा सभामा उनले भने- ‘कलाकारिता एउटा नशा जस्तो रहेछ । तर, यहाँ गुट र खेमाहरु एकआपसमा भिडेको देख्दा कलाकारितामा अब पुग्यो भन्ने लागेको थियो ।’

‘हामी त त्यो समयमा आएका कलाकार हौं, त्यसबेला तीन वर्षमा बल्ल बल्ल एउटा चलचित्र बन्थ्यो । एउटै हलमा एउटा चलचित्र ६ सय दिनसम्म चल्थ्यो । हामी भाग्यमानी यस अर्थमा पनि हौं,’ उनले अगाडि भने- ‘सबैभन्दा सानो उमेरमा चलचित्रलाई काँधमा बोकेर हिँड्ने कलाकार सम्भवतः म नै हुँला । १८ वर्षको उमेरमा पहिलो चलचित्रमा नै मैले नायकको भूमिकामा काम गरेको थिएँ ।’

एक समय आफूलाई फिल्म क्षेत्रका व्यक्तिले विर्सिसकेको पनि उनले गुनासो पोखे । ‘लण्डनमा ‘एभरेष्ट’ चलचित्रको सुटिङको बेला ‘हँसिया’ चलचित्रको प्रिमियरमा मलाई मिलन भाईले बोलाउनुभएको थियो । त्यसबेला मलाई चलचित्र क्षेत्रका व्यक्तिहरुले विर्सिसकेका थिए । म नेपाली चलचित्रको अंग हो कि होइन भन्ने पनि थाहा थिएन । यो मैले कसैप्रति गुनासो पोखेको चाहिँ होइन,’ उनले भने ।

नेपाली चलचित्रका कुनै पनि कलाकारलाई भविष्यमा कसैले आफूलाई जस्तो व्यवहार नगर्न उनको आग्रह छ । उनले आफू आजीवन कलाकार भएर बसेको बताए । उनले निर्देशक मिलन चाम्सको चलचित्रमा अनुहार देखाउन मात्र भए पनि आफू तयार हुने बताएका छन् । उनले ‘ब्ल्यान्ड रक्स, बोबी’ पछि अब मिलनको अर्को चलचित्र ‘गोर्खा वारियर २’ मा मुख्य भूमिका निर्वाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu