‘आँधी तुफान २’ घोषणा, मुख्य भूमिकामा आरती, पुनम र याङ्सु



चलचित्र ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा कलाकारदेखि निर्देशकसम्म परिवर्तन भएका छन् । ०६१ सालमा महेन्द्र बुढाथोकीले निर्देशन गरेको चलचित्रमा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । चलचित्रले घरेलु बजारमा राम्रो कमाई गरेको थियो ।

यसको दोस्रो पार्टमा आरती आचार्य, पुनम गौतम र याङ्सु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । उनीहरुले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेका हुन् । मदन घिमिरेले निर्देशन गर्ने चलचित्रमा मुख्य नायकमा सञ्जय खतिवडा छन् । मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

चैतबाट छायांकन सुरु हुन लागेको चलचित्रका प्रस्तुतकर्ता मौनता श्रेष्ठ हुन् । उनले नै चलचित्रको कथा लेखेका हुन् । रामशरण उप्रेतीको छायांकन, प्रेम चल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी, हरी उप्रेती र दिनेश सुवेदीको गीत लेखन रहने ‘आँधी तुफान २’ नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्ने निर्देशक घिमिरेले जानकारी दिए ।

‘एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा चलचित्रले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका चलचित्र बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट चलचित्र बनाउने प्रयास गर्नेछु,’ उनले भने । चलचित्रलाई निर्माता संघका महासचिव रोज राणा, एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल, वितरक गोपाल कायस्थले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu