खुल्ला राजनीतिमा आएका विप्लवलाई रेखाको स्वागत



फागुन २२ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएपछि हिंसात्मक बाटो त्याग्दै शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ सँग अभिनेत्री रेखा थापाले भेट गरेकी छन् । आइतवार लाजिम्पाटस्थित विप्लव बस्दै आएको घरमा भएको भेटमा उनले ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीतिमा आएकोमा धन्यवाद र बधाई ज्ञापन गरेकी थिइन् ।

हिंसात्मक गतिविधि गरेपछि दुई वर्ष अगाडि सरकारले ‘विप्लव’ को पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला अभिनेत्री थापाले सरकारी कदमको खुलेरै विरोध गरेकी थिइन् । केही समय अगाडि एक अन्तर्वार्तामा उनले ‘विप्लव’ ले सत्ता चलाएको हेर्ने इच्छा समेत व्यक्त गरेकी थिइन् । शान्तिपूर्ण राजनीतिमा आए लगत्तै रेखाले ‘विप्लव’ सँग भेट गर्नुलाई धेरैले विशेष रुपमा हेरेका छन् ।

‘विप्लव’ सँगको भेटको बारेमा उनले भनिन्, ‘पहिलो कुरा म यो देशको नागरिक हुँ । त्यसपछि मात्रै कलाकार हुँ । नागरिकको हिसाबले शान्तिपूर्ण राजनीतिमा आउनु सबैका लागि राम्रो कुरा हो । एउटा कलाकारको हिसाबले पनि अहिले वातावरण विग्रिएको अवस्थामा खुल्ला राजनीतिमा आउने सबैलाई स्वागत गर्नुपर्छ । म उहाँलाई स्वागत गर्न गएको हुँ । अरु केही कारण छैनन् ।’

‘विप्लव’ सँगको भेटलाई शंका-उपशंकाबाट हेर्न आवश्यक नरहेको पनि उनले बताएकी छन् । ‘मैले आजसम्म घुमाएर फिराएर कुनै काम गरेको छैन । हरेक मान्छेको एजेन्डा हेरेर समर्थन गर्ने वा नगर्ने सबैलाई आ-आफ्नो स्वतन्त्रता हुन्छ । शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी लागेर मैले ‘विप्लव’ सँग भेटेको हुँ । यसमा शंका-उपशंका पाल्नुपर्ने कारण छैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu