दुबईमा खिचिँदै ‘सम्हालिन्छ कहिले मन’



निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडीलाई लिएर दुई वर्ष अगाडि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को घोषणा गरेका थिए । बेलायतमा ४५ दिन छायांकन भएको यो चलचित्र नेपालको मुस्ताङ र काठमाडौंमा पनि खिचिएको छ । निर्माण टिमले गत वर्षको भदौ ५ गतेलाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरेको थियो ।

तर, विविध कारणले निर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको यो चलचित्रको अझै छायांकन नै सकिएको रहेनछ । आठ दिनको सेड्युल तयार पारेर चलचित्रको टिम बाँकी छायांकनका लागि दुबई प्रस्थान गरेको छ । त्यहाँ चलचित्रको गीत र केही सिनहरु खिचिने निर्देशक थापाले जानकारी दिए । दुबईमा एक हप्ता लामो छायांकनपछि चलचित्र प्याकअप हुने उनले बताए ।

दुबईबाट उनले भने- ‘चलचित्रको छायांकन सकिएकै थिएन । कोरोनाका कारण चलचित्रको बाँकी छायांकन गर्न पाएका थिएनौं । अब केही दृश्य र गीत दुबईमा खिच्नेछौं ।’ दुबईमा पूजा र आकाशसँगै यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका सोनम तोप्देनको दृश्य खिचिनेछ । आइतवार दुबई उड्दै गर्दा पूजा र आकाशले दर्शकहरुले चाँडै चलचित्र हेर्न पाउने विश्वास दिलाए ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको कथा महेश दवाडीले तयार पारेका हुन् । सौरभ लामा छायाँकार रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट चलचित्रको नाम सापटी लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu