अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यही फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्न लागेको निर्माण टिमले सोमवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोस्टरमा अनमोल र सुहाना रोमान्टिक देखिएका छन् । पोस्टरमा अनमोलले चुम्बन गर्न खोज्दा सुहाना लजाएको देखिन्छ । कोरोना महामारी नभएको हुन्थ्यो भने यो चलचित्र यसपालीको दशैंमा प्रदर्शनमा आइसकेको हुने थियो । तर, कोरोनाका कारण छायांकन पूरा नभएपछि चलचित्रको प्रदर्शन अनिश्चिलकालका लागि स्थगित गरिएको थियो ।
अभिनेत्री झरना थापा निर्देशित चलचित्रका निर्माता सुनिल कुमार थापा हुन् । चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । सञ्जय लामा छायाँकार रहेको चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । लकडाउनको समयमा निर्माण टिमले गायक दुर्गेश थापालाई विशेष भूमिकामा अनुबन्ध गरेको थियो । चलचित्रमा उनको केही सिन र एक गीत रहने बताइएको छ ।




