राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउँदै धिरेन शाक्य



एक समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेका कलाकारहरुको चलचित्र निर्माणमा आकर्षण बढ्दो छ । भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल लगायतले चलचित्र निर्माण गरिसकेका छन् । तर, सफलता थोरैले मात्र पाएका छन् । अब एक समयका चर्चित अभिनेता धिरेन शाक्यले पनि चलचित्र निर्माणमा हात हाल्ने भएका छन् ।

लकडाउनभन्दा अगाडि नै उनी आफ्नो एकल लगानीमा चलचित्र बनाउने तयारीमा थिए । यसका लागि उनी केही चरण स्क्रिप्ट राइटरसँग पनि बसेका थिए । तर, कोरोनाका कारण उक्त चलचित्रको काम अगाडि बढ्न सकेन । अब उनले एक समयका चर्चित कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउने भएका छन् । उनी स्वयंले यसको जानकारी दिएका हुन् ।

‘कोरोना महामारीभन्दा अगाडि राजेन्द्रले पुराना कलाकारलाई लिएर चलचित्र बनाउँ भनेर मसँग सल्लाह गरेको थियो । यसका लागि उसले राम्रो तयारी गरेको थियो । मसहित राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलाई मिलाएर चलचित्र बनाउने तयारी हुँदै गर्दा कोरोनाले बिथोल्यो । अहिले बजारको माहोल देखेर पछाडि हटेका छौं । बजार ब्यालेन्समा गयो भने चलचित्र बनाउँछौं,’ उनले भने ।

पुराना कलाकारलाई दर्शकहरुले एकसाथ हेर्न चाहेका कारण आफूहरुले पहल गरिरहेको उनको भनाई छ । ‘हामी पुराना ४-५ जना कलाकार मिलेर चलचित्र गर्‍यौं भने त्यो सफल हुन्छ भन्ने थाहा छ,’ शाक्यले थपे- ‘क्यारेक्टर अनुसार चारै जना भयौं भने झन् राम्रो । सम्भवतः चलचित्रमा शिव दाई, राजेश र म हुनसक्छौं ।’ हल राम्रोसँग चल्न थालेपछि चलचित्रको काम अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu