अभिनेता प्रदीप खड्काले आइतबारबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनले मार्केटिङमा मास्टर्स गरेका छन् । चलचित्र ‘स्केप’ बाट अभिनय यात्रा थालनी गरेका उनलाई सन् २०१६ मा प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेमगीत’ स्टार बनाएको थियो ।
अहिले करिअरको उत्कर्षमा रहेका प्रदीप चलचित्र छनोटमा निकै चुजी मानिन्छन् । निर्माताहरु लाखौं तिरेर चलचित्र गराउन तछाडमछाड गरे पनि उनी स्क्रिप्ट र टिम मनपरे मात्र काम गर्न राजी हुन्छन् । उनी पछिल्लो पटक ‘लभ स्टेशन’ मा देखिएका थिए । त्यस्तै, उनी अभिनीत चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनी चाँडै चलचित्र ‘प्रकाश’ को छायांकनमा व्यस्त हुँदैछन् ।

‘डिप्लोम्याटिक’ जवाफ दिन खप्पिस प्रदीप प्रायः आफ्नो बोलीका कारण भने आलोचित बन्ने गरेका छन् । अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीका प्रतिस्पर्धी मानिने उनले चलचित्र निर्माण कम्पनी प्रदीप मिडिया पनि दर्ता गरेका छन्, जसबाट ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक चलचित्र निर्माण भइसकेका छन् । प्रदीपले विभिन्न चलचित्रबाट अवार्ड पनि उचालिसकेका छन् ।
‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ घोषित भएका उनले ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा पपुलर नायकको अवार्ड चुमेका थिए । यस्तै, पहिलो ‘एलजी फिल्म अवार्ड’ मा चलचित्र ‘प्रेमगीत’ बाट उनले अभिनेत्री पूजा शर्मासँग उत्कृष्ट जोडीको अवार्ड उचालेका छन् । उनले अहिलेसम्म कुनै चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न भने सकेका छैनन् ।




