‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन रहने चलचित्र ‘प्रकाश’ को शुभमुहूर्त गरिएको छ । बिहीवार शिवरात्रीको अवसरमा मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, निर्देशक, निर्माता र प्राविधिक टोलीले क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गरे । मुहूर्तसँगै चलचित्रको टिम छायांकनका लागि जुम्ला हिँडेको छ । चलचित्रको सुरुवातदेखि अन्तिमसम्मको सम्पूर्ण दृश्य त्यही खिचिनेछ ।

अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री रेनु योगीको जोडी बाँधिएको चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी शिक्षक बन्न गर्ने संघर्षको कथा चलचित्रले वाचन गर्नेछ ।
विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा महेन्द्र अधिकारीको एकल लगानी रहनेछ । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । कलाकार अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ । चलचित्रमा प्रदीपले पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।




