आउँदो चैत २७ गतेबाट प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र ‘कृष्ण लीला’ को शुक्रवार फस्टलुक पोस्टर सार्वजनिक भएको छ । ‘कुनै दिन र डियर बन्न मन छ’ गीतका कारण चर्चामा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता पुष्प खड्का फिचर छन् । भिन्न गेटअपमा देखिएका उनको आँखामा लहराको चस्मा र हातमा कलमले बनाएको घडी देख्न सकिन्छ ।

उनको यो गेटअपले दर्शकमा चलचित्रप्रति उत्सुकता र कौतुहलता जगाएको छ । पोस्टरमा पुष्पको भाव हेर्दा चलचित्रमा उनी सुस्त मनस्थिति भएको युवकको भूमिकामा हुनसक्ने आँकलन गर्न सकिन्छ । चलचित्रमा पुष्पको जोडी अभिनेत्री श्रद्धा क्षेत्रीसँग बाँधिएको छ । बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईको पनि चलचित्रमा अभिनय छ ।
दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।