१४ वर्षसम्म चलचित्र क्षेत्रले नसम्झिएको भन्दै विपना भावुक



यसै साता नेपाल आएकी अभिनेत्री विपना थापा शनिवार राजधानीमा भएको दशौं नेफ्टा अवार्डमा सहभागी हुँदा नर्भस र भावुक भएकी थिइन् । अवार्ड समारोहमा उद्घोषकको रुपमा रहेकी माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक समात्न नपाउँदै विपनाको आँखामा आँशु रोकिएनन् ।

गहभरि आँसु पार्दै उनले भनिन्, ‘म नेपालमा नभएर पनि होला । त्यसैले कसैमाथि आरोप लगाउन चाहन्नँ । तर, आजसम्म फिल्म इन्डस्ट्रीको एउटा कार्यक्रममा पनि मलाई बोलाइएको थिएनन् । म १११ वटा चलचित्रमा काम गरेको हिरोइन हुँ । तर, १४ वर्षसम्म कसैले मलाई सम्झिएनन् । नेफ्टाले एक महिना अगाडिदेखि बोलाएपछि स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि आएँ । एकदमै खुसी छु ।’

वर्षौंपछि चलचित्रको माहोलमा सहभागी हुन पाउँदा आफू विगतमा फर्किएको उनले बताइन् । अवार्ड कार्यक्रमबाट बाहिरिँदै गर्दा विपनाले मिडियासँग भनिन्, ‘म आज १४ वर्षअघिको विपना महशुस गरिरहेको छु । मलाई दर्शकहरुले निकै माया गर्नुहुन्छ । चलचित्र इन्डस्ट्रीका धेरै जनासँग मेरो सामाजिक सञ्जालमा कुरा भइरहेको हुन्छ । सबैले आज पनि मलाई उतिक्कै माया गर्नुहुन्छ ।’

उनले अब आफू कमब्याकको तयारीमा रहेको बताएकी छन् । गत वर्ष केही चलचित्रमा काम गर्ने सहमति भए पनि कोरोनाले रोकिएको उनको भनाई छ । उनी भन्छिन्, ‘आउँदो अक्टोबर वा नोभेम्बरतिर चलचित्र गर्छु होला । भविष्यमा चलचित्र बनाउन पनि सक्छ तर तत्काल अभिनयलाई नै निरन्तरता दिनेछु ।’ हालै एक सर्जरी गरेका कारण आफू केही मोटाएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu