एक समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री निरुता सिंह करीब एक दशक अभिनयबाट टाढा बसिन् । १२ वर्षपछि चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किएकी उनले यसपछि चलचित्र ‘दाल भात तरकारी’ मा काम गरिन् । यो चलचित्रमा लाउड अभिनयका कारण आलोचित भएकी उनले दुई वर्षदेखि नयाँ चलचित्र साइन गरेकी छैनन् ।

दर्शकहरु उनको नयाँ चलचित्रको प्रतिक्षामा छन् । अब उनी चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँपछि’ मा काम गर्ने तयारीमा रहेकी छिन् । उनले यो चलचित्रलाई आफ्नो वास्तविक कमब्याक हुने बताएकी छन् । अभिनेता उत्तम प्रधानले निर्देशन गर्ने चलचित्रमा उनीसँगै निरुता र दीलिप रायमाझीको मुख्य भूमिका रहनेछ । चलचित्रको कथा पनि उत्तमले नै तयार पारेका छन् ।
कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन नसकेको निरुताले बताएकी छन् । शनिवार नेफ्टा अवार्डमा चलचित्रको बारेमा उनले भनिन्, ‘कोरोना नभएको भए चलचित्रको छायांकन सुरु नै भइसक्थ्यो । नेपाल-भारत बोडर सिल भएका कारण, त्यो खुलेपछि छायांकन थाल्नेछौं ।’ ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने चलचित्रलाई उत्तर र निरुताले मिलेर निर्माण गर्दैछन् ।




