‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेल अहिले नयाँ चलचित्रको तयारीमा रहेका छन् । कोरोना महामारी नभएको हुन्थ्यो भने यतिबेलासम्म नाम गोप्य राखिएको चलचित्रको छायांकन नै पूरा भइसकेको हुने थियो । तर, कलाकारहरु छायांकनका लागि वर्कसपमा व्यस्त भइरहँदा देश लकडाउन भयो । यसपछि निर्माण टिमले स्थिति सामान्य नहुँदासम्म चलचित्रको छायांकन पोस्टपोन्ड गरेको थियो ।

अब यही चैत अन्तिम साताबाट निर्देशक पौडेल चलचित्रको छायांकन सुरु गर्ने योजनामा रहेका छन् । तर, छायांकन सुरु नहुँदै चलचित्रका मुख्य नायक परिवर्तन भएको खबर बाहिरिएको छ । गायक नितेशजंग कुँवरलाई मुख्य नायक र ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीलाई मुख्य नायिकामा अनुबन्ध गर्दै फिल्मको वर्कसप सुरु भएको थियो । अब नितेशले चलचित्रबाट हात झिकेको चर्चा छ ।
पारिवारिक कारणले उनले चलचित्र गर्न नसक्ने भएपछि सुरेन्द्रले ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड अभिनेता धिरज मगरलाई अनुबन्ध गरेको जानकारी प्राप्त छ । गएको शनिवार नेफ्टा अवार्डमा पनि धिरजले आफूले नयाँ चलचित्र साइन गरेको बताएका थिए । तर, उनले कसको चलचित्र भनेर खुलाएका थिएनन् । उनले साइन गरेको नयाँ चलचित्र सुरेन्द्रकै रहेको विश्वस्त स्रोतले बताएको छ ।
तर, निर्देशक पौडैलले चलचित्रबाट नितेश बाहिरिएको र धिरज भित्रिएको विषयमा बोल्न चाहेनन् । यसबारेमा कुनै टुंगो नभएको उनको भनाई छ । केही दिनमा चलचित्रको घोषणा हुने र त्यही सम्पूर्ण कुराको जानकारी गराइने उनले बताए । चलचित्रमा अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीले पनि अभिनय गर्दैछन् । अहिले धिरज र अदिती दुवै मुम्बईमा रहेका छन् ।


