अर्को वर्षको भदौ १८ गते सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउने भएको छ । दुबईमा छायांकनपछि निर्माण टिमले मंगलवार भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो चलचित्र गत वर्षको तीजमा नै प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले पोस्टपोन्ड भएको चलचित्रलाई अब आउँदो तीजको छेकोमा प्रदर्शन गर्न लागिएको हो ।

चलचित्रको दुई वर्ष अगाडि बेलायतमा ४० दिनसम्म छायांकन भएको थियो । यसपछि नेपालका विभिन्न स्थानमा खिचिएको चलचित्रको केही प्रतिशत छायांकन दुबईमा गरिएको छ । दुबईमा छायांकनसँगै चलचित्रको सुटिङ प्याकअप भएको छ । अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रबाट सोनम तोप्देनले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि अभिनय रहेको चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा र सौरभ लामाको छायांकन छ । अमित बस्नेतको लगानीमा बनेको यो चलचित्रको भदौ १८ गते अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ सँग भिडन्त हुनेछ ।