मंगलवारबाट एकसाथ दुई चलचित्रको छायांकन सुरु भएको छ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने चलचित्र ‘ए साथी सुन’ को हेटौंडाबाट छायांकन सुरु भएको हो भने अभिनेता प्रमोद अग्रहरी र अभिनेत्र छुल्ठिम गुरुङको अभिनय रहने चलचित्र ‘ए’ को मंगलवार सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । दुवै चलचित्र सस्पेन्स थ्रिलर कथामा बन्नेछ ।

राघव आचार्यको निर्देशनमा तयार हुने ‘ए साथी सुन’ बाट रमेश बाँनियाले नायकको रुपमा डेब्यू गर्दैछन् । विना कार्की निर्माता रहेको चलचित्रको छायाँकार मानकृष्ण महर्जन हुन् । ‘कालिपुरुष’ नाममा पोस्ट प्रोडक्सनको काम भएको चलचित्रको छायांकनमा निस्कने समयमा नाम परिवर्तन गरिएको हो । कथावस्तु र आफ्नो भूमिका मन परेका कारण चलचित्रमा आबद्ध भएको वर्षाले बताएकी छन् ।
त्यस्तै, ‘ए’ का निर्देशक भोमन कटुवाल हुन् । चलचित्रमा सोहित मानन्धर, रिश्ता बस्नेत, रवि गिरी, प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । मोहन कुमार झिल्लुले खिचिरहेको चलचित्रका निर्मातामा प्रलाद काफ्ले छन् । जासुसी पात्रको रुपमा देखिन लागेका प्रमोदले चलचित्रका लागि भिन्न लुक्स बनाएका छन् ।




