हरेक प्रकारका भूमिकामा जीवन्त अभिनय गर्नसक्ने अर्पण थापा आफूलाई निर्देशकको रुपमा पनि स्थापित गर्ने ध्याउन्नमा छन् । उनले ‘मुखौटा, आधा लभ, सुनकेशरी र घर’ चलचित्रको निर्देशन गरिसकेका छन् । यीमध्ये ‘सुनकेशरी र घर’ हरर चलचित्र हुन् । अब उनले तेस्रो पटक हरर चलचित्र ‘भूत घर’ को निर्देशन गरेका छन् । यो चलचित्रको छायांकन पूरा भइसकेको छ ।

लकडाउनको समयमा छायांकन भएको चलचित्रमा अर्पण स्वयं प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा सिर्जना रेग्मीले अभिनय गरेकी छन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका छन् । हरि तामाङले निर्माण गरेको चलचित्रको वितरण जिजिए ग्रुपले गर्नेछ । चलचित्रको केही दिनमा प्रदर्शन मिति घोषणा गरिने वितरक करण श्रेष्ठ (क्रेजी) ले बताए ।
नेपालमा हरर जनराको चलचित्र बनाउने प्रयास खासै सफल देखिएको छैन । न त नेपालमा बनेका हरर चलचित्रले दर्शक रिझाएका छन् । नेपाली हरर चलचित्रले दर्शकलाई तर्साउनेभन्दा हँसाउने काम बढी गरेको छ । अर्पण निर्देशित ‘सुनकेशरी’ यसको उदाहरण हो । अब हरर जनराको चलचित्रमा अर्पणको तेस्रो प्रयास कति सफल होला ? यसका लागि केही समय कुर्नैपर्छ ।